Sunday December 16, 2018 | |

लघुकथा : प्रतिफल

featured-news


–चन्द्रमणि पोखरेल  

 

शिवप्रसादले बर्सौदेखि पालेर राखेको सपना साकार भयो । जब छोराले एमबीबीएस डाक्टर भई वीर हस्पिटलमा विरामीहरुको सेवा गर्न थाल्यो । सामान्य हस्पिटलको पियनको अरु के नै इच्छा हुन्थ्यो र ? उमेरमा राम्रो नलगाई मीठो नखाई-नखाई काठमाडौको जाडोमा एउटा गतिलो ज्याकेट नलगाई शिबप्रसादले छोरालाई डाक्टर बनाएका थिए । छोराको डाक्टरीमा दिन दुई गुणा रात चौगुणा भक्तपुर, ललितपुर र काठमाडौमा नाम पनि चल्न थाल्यो । हप्तामा छोराले पचासाैं क्लिनिक धाउँथ्यो । छोराको प्रगति देखेर उनले आफुले बचत गरिराखेको र सञ्चय कोष झिकेर छोराको विवाह धुमधामसँग गरिदिए ।


कुलघरानकै छोरी बुहारी बनाएर ल्याएका थिए शिवप्रसादले । बुहारी पनि नर्स थिइन् । शिवप्रसादको घरमा एकैचोटि दुईवटा खुसी आयो, बुहारी सँगसँगै जागिर पनि । तर त्यो घरको खुसी एकवर्ष पछि घरझगडामा बदलिन थाल्यो । डाक्टर छोराले बुबासँग अंश मागेर छुट्टिएर बस्छु भन्न थाल्यो । आमाबाबुलाई चाहिँ छोरो छुट्टिएर नबसोस् भन्ने थियो । तर दुःखसुख र आराम बिमारमा हेरचाह गर्नुपर्ने बेलामा आमाबुबाको आशामा धावा बोल्दै छोरो त छुटिन्छु पो भन्न लाग्यो !


छोराले 'बुबा म यो पारिवारिक झमेलामा पर्दिन, मलाई पाउनेजति अंश दिनुस् म बेग्लै बस्छु' भन्न थाल्यो । छोराको यस्तो प्रस्तावले शिवप्रसाद भक्कानिए । तैपनि उनले सम्झाए, तर छोरो मानेन । जुन साहाराको लौरो बुढेसकालमा टेकौंला भन्ने थियो, त्यो नै आज भाँचियो । शिवप्रसादको मन अमिलो भयो । हुँदाहुँदै अब अंशमुद्दा हाल्छु भन्न थाल्यो ।

 

'आजसम्म मैले तँलाई उभ्याउनमै मेरो जीवन खर्च गरेँ । अब त मलाई कठघरामा पो उभ्याउने भईस् ? मैले तेरै निम्ति यत्रो संघर्ष गरें । ऋण काढेँ, भोकै बसें, एकसरो राम्रो लगाइनँ, आज यहि परिणाम देख्नु रहेछ । तेरो डाक्टरी पढाइ रहेछ । भैगो तँलाई छुट्टिन छ भने जा । के साँच्चै हामी बाट तेरो छुट्टिने मनसाय हो ?' भन्दै बाउ अलिक जंगिए ।

 

बाबुको उत्तरमा छोरो अलिक हच्किएझैं भयो । उता पल्लो कोठाबाट बुहारीले छोराको सातो खान थालिन् । शिवप्रसाद घरजगाको धनीपुर्जा खोज्न थाले दराजमा ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement