Sunday December 16, 2018 | |

नेकपाले बिर्सनै नहुने कुरा

featured-news

 –सुमन आचार्य 

नेपालमा कम्यूनिष्ट पार्टिले आन्दोलनको शुरुवात केवल हाम्रो आफ्नै देशभित्रका कारणहरुबाट थालनी गरेको होइन । विश्वमा सोभियत संघको विघटनपछिको सर्वहारावर्गको अभिनायकत्वको रुपमा कम्युनिष्ट पार्टिको एक नेतृत्वमाथि तमाम प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलन वामे सर्दै गरेको थियो । संसारका विभिन्न देशमा कम्युनिष्टहरुले क्रान्ति जित्ने, हार्ने वा जित्दा पनि सफल वा असफल हुने क्रमसँगै नेपालमा पनि कम्युनिज्म विचारधाराका अंकुरहरु उम्रिन थालेको देखिन्छ । खासगरी जहानियाँ राणाशासन, निरंकुश राजतन्त्र र सामन्तवादी सामाजिक संरचना तथा अन्तराष्ट्रिय परिवेशहरुले नेपालमा कम्युनिज्म जन्माउने भूमिका खेलेपनि यहाँ कम्युनिष्ट आन्दोलनको प्रवृतिले भने आफ्नै मोडेल विकाश गर्दै आयो । शुरुवातमा आरम्भ गरिएका विभिन्न देशको क्रान्तिका नक्कलहरु समयक्रममा विस्थापित गरिदिनुले नै नेपाली क्रान्तीलाई मौलिक बनाएको हो । 

 

कमरेड पुष्पलालहरुले सात साल तिरै देखेको नेपाललाई समाजवादी मुलुकका रुपमा विकाश गर्ने सपना आज सत्तामा पुगेको नेकपाको प्रमुख ध्येय हो । यस ध्येयको प्राप्तीका  निम्ती कम्युनिष्ट पार्टिले ६ दशकभन्दा लामो समय संघर्ष, मुलुकको परिस्थिति बमोजिमको कम्युनिष्ट पार्टिले शसत्र क्रान्ती गर्नेदेखि लिएर तत्कालिन अवस्थाको सुधारमुखि आह्वानहरुको उपयोग समेत गर्दै शान्तीपूर्ण राजनीतिको यात्रामा सामेल भएको पनि धेरै भइसकेको छ । खासगरी तत्कालिन महासचिव मदन भण्डारी र उनको नेतृत्वको टिमले अघि सारेको जनताको बहुदलिय जनवादी विचारधाराले कम्युनिष्ट पार्टिको मुल ध्येय समाजवादमा पुग्न शान्तीपूर्ण बाटो अँगाल्ने निष्कर्ष निकाल्यो । त्यसपछि निरन्तर सर्वहारा वर्गको मुक्ति, समानता र तिव्र विकाशका निम्ती नेकपा एमालेले शान्तीपूर्ण जनसंर्घषका माध्यमबाट नै निरंकुश राजतन्त्रको अन्त्य गर्न सकिने कुरामा दृढता प्रदर्शन गर्दै आइरह्यो ।

 

पार्टिका नेताहरुका आ– आफ्ना विचार, अभिव्यक्ति र प्रस्तुति रहेपनि सिद्धान्त र अडानका हिसाबले पुर्व एमाले शान्तिपूर्ण संर्घषलाई कायम राख्दै राजतन्त्रको अन्त्यका निम्ती प्रष्टै रह्यो ।  मुलुकमा राजा, काँग्रेस र पञ्चायती नेताहरुको आलोपाली शासन सञ्चालन एकातिर जारी थियो भने अर्कोतिर माओवादी जनयुद्धले उग्र रुप लिइरहेको बेला  एमाले भूमिका विहिन भएको भन्नेहरुपनि धेरै थिए । तर यस अवधिमा एमालेका नेताहरुले संविधानसभाको चुनावमा काँग्रेसलाई सहमत गराउन र माओवादीलाई वार्तामा ल्याउन निकै ठूलो मेहनत गरे । फलस्वरुप काँग्रेसले गणतन्त्र स्वीकार्ने परिस्थितिले माओवादीले हतियार छोड्ने अवस्था सिर्जना भयो । त्यसपछि एउटा गतिका साथ राजतन्त्रको अन्त्य, संविधानसभाका चुनावहरु र गणतन्त्रको प्राप्तीमा नेपालले युगिन सफलता पाउन सक्यो । यस सन्दर्भलाई पंतिकारले यहाँ किन जोड्न आवश्यक ठानेको हो भने, माथि उल्लेखित व्यवस्था परिवर्तनको लडाई शान्तीपूर्ण थियो र जसको कमाण्डर एमालकोे सैद्धान्तिक लाइन प्रमुख थियो ।

 

भन्नेहरुले परिवर्तनको नायक गिरिजा प्रसाद कोइरालालाई भन्दै आइरहेका भएपनि उनको पार्टिको संवैधानिक राजतन्त्रको लाइनबाट गणतन्त्रमा प्रवेश गराउने विषय फलामको च्युरा चपाउनुभन्दा पनि कठिन रहेको एमाले नेताहरुले नै पनि उल्लेख गर्ने गरेका छन् । यसरी गणतन्त्रको मुख्य नेता पूर्व एमाले थियो । आज त्यसरी राजनीतिको शान्तीपूर्ण बाटोमा आफुलाई कन्भिन्स गराउने पार्टिसँग माओवादीको एकतापछि नेकपा बनेको छ । पूर्व एमालेसँगको सैद्धान्तिक असहमति सखाप भएपछि यि दुवै पार्टिबिचको एकता सम्भव भएको हो । आधारभुत रुपमा अब अघि बढ्ने बाटो एउटै हुने निष्कर्ष पछि नेकपा नामको एउटै ब्राण्ड नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बनेको हो । एउटै पार्टिको निर्माणपछि अब पार्टी र नेताहरुको एउटै मात्र दायित्व लिइएका लक्ष्यहरु र देखाइएका सपनाहरु पुरा गर्नु हो । यसका निम्ती २ जना अध्यक्षहरु मात्रै लखर लखर हिंड्ने वा केही व्यक्तिहरुलाई सारा चिजको जिम्मा दिने गर्नाले आम पार्टि सहस्यमाथि ठूलो अन्याय हुन्छ । नेताहरुले आजका उपलब्धीहरुमा पार्टि संगठन र कार्यकर्ताहरुको बलिदानी कस्तो थियो ? भन्ने कुराको हेक्का राख्नुपर्दछ । 

 

पछिल्लो पटक २ तिहाई जनमतका साथ सत्ताको नेतृत्व गरिरहँदा नेताहरुले व्यक्तिवादी चिन्तनलाई बढावा दिइरहेको भान हुन्छ । पार्टिको पुरानो ध्येय, निति र अडान भन्दा पनि स्वेच्छाचारिता हुर्कर्दै र संस्थागत हुँदै गएको छ । उहिलेका राजा महाराजाहरुले दिने आदेश जस्तो नेताहरुले आदेशका भरमा पार्टि चलाउन खोजिरहेका छन् । आजको पार्टिमा सवैभन्दा ठूलो समस्यामा उनै जननेता मदन भण्डारीको “जीवनका लागि सिद्धान्त नभई सिद्धान्तका लागि जीवन” भन्ने भनाई परेको छ । सत्तामा पुगेको नेताहरु पार्टिको विचार, सिद्धान्त र नीतिलाई सपनाका महलहरु निर्माण गर्न विपनामा मौका मिलिरहेको ढंगको प्रस्तुती पस्किरहेका छन् । 

 

यसकारण आजको कम्युनिष्ट पार्टि र यसको सरकारले आफ्नो इतिहास र संगठनप्रति बफादार बन्नुको विकल्प छैन  । सरकारको नेतृत्वले चिनियाँ क्रान्तिको सफलतामा कमरेड माओत्संतुङले कसरी ६८ करोड जनतालाई आफ्नो नेतृत्व प्रदान गर्न सकेका थिए भन्ने कुरा बुझ्न जरुरी छ । हामीले कम्युनिष्ट पार्टिले सर्वहारावर्गको सत्ता प्राप्त गर्ने २ वटै धारा बलको प्रयोग र शान्तीपूर्ण जनसंघर्षको माध्यमबाट  आजको हाम्रो आकार लिन सकेका छौं । यसकारण अब नेपालमा सत्ता प्राप्तीका निम्ती फेरी क्रान्तिको आवश्यकता छैन । नेपालमा अब नेकपा ठूलो बनिरहन पनि संघर्ष गर्नुपर्ने छैन । त्यसैले आजको नेकपाले आफ्नो मुल लक्ष्य विकाशमा सफलता हासील गर्न आफ्नो पार्टी, संगठन र आम कार्यकर्तालाई सँगसँगै हिंडाउनुको विकल्प छैन् । 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement