Thursday October 18, 2018 | |

केही साथीहरु नेतृत्वको आलोचना गर्यो भने क्रान्तिकारी भइने ठान्छन् : जोशी

featured-news

नेपाली काँग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघको भावी नेतृत्वका लागि ३२ बर्ष उमेरहद तोकेसँगै पार्टी स्वयम् र नेविसंघमा नेताहरु दुई ध्रुवमा बाँडिएका छन् । तर, ११ औं महाधिवेशनले नैं गरेको वैधानिक व्यवस्थाबाट कुनैपनि नेता वा कार्यकर्ताले आपत्ति जनाउन जरुरी नैं नभएको बताउँछन्– संगठनका केन्द्रीय सहमहामन्त्री एवम् प्रवक्ता प्रेमराज जोशी । कैलालीको धनगढी माविबाट २०५९ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका जोशी यतिबेला संगठनको आसन्न १२औं महाधिवेशनको निम्ति केन्द्रीय अध्यक्ष पदका सशक्त उम्मेदवार मानिन्छन् । पार्टी संस्थापन निकट नेता जोशीसँग नेविसंघ महाधिवेशनसँग सम्बन्धित विविध विषयमा केन्द्रित रही आजको न्यूज डटकम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त संवाद :


नेविसंघको आगामी नेतृत्वका लागि उमेर हद लागु हुने कुरा टुंगो लागेको हो ?
– वास्तवमा नेविसंघमा उमेर हदको विषय अहिले आएर टुंगिएको वा टुंगिनुपर्ने विषय नैं होइन । यो त हाम्रो ११औं महाधिवेशनले नैं १२औं महाधिवेशनबाट नेतृत्व तहमा ३२ बर्ष उमेरहद लगाउने भनेर वैधानिक रुपमा गरेको व्यवस्था थियो । तर, नेविसंघको वर्तमान कार्यसमितिले गठन गरेको विधान मस्यौदा कार्यदलले उमेरहदको विषय हटाउनुपर्छ भनेर पार्टी नेतृत्वसमक्ष गरेको प्रस्ताव अस्वीकृत भएपछि अब नेविसंघमा उमेरहदको प्रश्न क्लोज भइसक्यो ।


तर, यही विषयलाई लिएर तपाईहरुको पार्टीभित्र चरम विवाद सुरु भएको देखिन्छ नि !
– नेताहरुमा आफूले गरेको निर्णयलाई आफैले नमान्ने कुराले हाम्रो पार्टीमा कस्तो संस्कृति हुर्कदैछ भन्ने प्रश्न जन्माएको छ । जबकी, हाल यही उमेरहदको विषयलाई लिएर पार्टीमा नोट अफ डिसेन्ट लेख्ने नेताहरुले नैं व्यापक छलफलको बिचबाट सबै पक्षको प्रतिनिधित्व हुनेगरी ११औं महाधिवेशनपूर्व नैं आगामी महाधिवेशनका लागि उमेरहदको विषय लागु गर्ने भनेर सहमति गरेका थिए । आज आएर तिनै नेताहरुले नैं असहमति जनाउनु अत्यन्तै लज्जास्पद कुरा हो । त्यसकारण पार्टी र संगठनलाई नीति, विधि र सहमतिका साथ सञ्चालन गर्ने हो भने यस्ता कृत्रिम असहमतिहरुलाई कुनै महत्व दिनुहुदैन ।


उमेरहद लागु नैं हुने भएपछि तपाई अध्यक्षको उम्मेदवार बन्ने सम्भावना कत्तिको छ ?
– मैले खासगरी संगठनभित्रको पछिल्लो विकसित घटनाक्रम र नेविसंघको भावी नेतृत्वका सन्दर्भमा देशभरिका साथीहरुसँगको राय र परामर्शका आधारमा अघि बढ्ने सोच बनाएको छु । विद्यार्थी आन्दोलनको अगुवाइ वास्तविक विद्यार्थीले नैं गर्नुपर्ने आजको परिवेशमा म स्वभाविक र प्राकृतिक उम्मेदवार नैं हुन्छु जस्तो लाग्छ । तथापि, यो विषयलाई पनि मैले साथीहरुसँगको गहन छलफलपछि मात्रै टुंग्याउने सोच बनाएको छु ।


पार्टीभित्र विकसित पछिल्लो ध्रुवीकरणले नेविसंघमा संस्थापन पक्ष पराजित हुने अड्कलहरु गरिन थालिएका छन्, यहाँलाई के लाग्छ ?
– पार्टी नेतृत्वलाई खुइल्याएर आफू क्रान्तिकारी बन्ने केही साथीहरुको चाहना देखिन्छ । देशभरका साथीहरुको मनोविज्ञानलाई मध्यनजर गर्ने हो भने यतिबेला नेविसंघको नेतृत्वमा नयाँ खालको जागरण ल्याउन सक्ने व्यक्तिको खोजी भइरहेको छ । तपाईले भनेजस्तो ध्रुवीकरणले हामीलाई कुनैपनि असर गर्ने देखिदैन । किनभने देशभरका बहुसंख्यक स्ववियु सभापतिहरु, जिल्ला अध्यक्षहरु र संगठनमा जोडिन चाहने नयाँ साथीहरुको तयारी देख्दा उनीहरु संगठनलाई लामो समयदेखि बन्धक बनाइराख्ने तत्वलाई बढार्न इच्छुक देखिन्छन् । व्यक्तिगत स्वार्थ र मनोकांक्षाका आधारमा भइरहने धु्रबीकरणहरुले खासै अर्थ राख्दैन । अर्काे कुरा, हिजोका महाधिवेशनहरुमा गैरविद्यार्थीहरुको बोलवाला हुन्थ्यो तर आज वास्तविक विद्यार्थीको बिचबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था भएकोले हामी जित्ने कुरामा कुनै द्विविधा देखिदैन ।


विद्यार्थी संगठनहरु वास्तविक विद्यार्थीका समस्याहरुसँग खासै परिचित छैनन् भन्ने आरोप छ, यसमा कत्तिको सत्यता छ ?
– पहिलो कुरा त मैले माथि नैं भनेजस्तो विद्यार्थी वर्गको नेतृत्व पार्टीको नेता हुनुपर्ने वर्गले सम्हाल्दै आएकाले विद्यार्थीका वास्तविक समस्यासँग नेतृत्व परिचित हुन सकेन । यतिमात्रै होइन, त्रिभुवन विद्यालयका विभिन्न विकृति विसंगतिहरु, सेमेष्टर प्रणालीको वैज्ञानिक व्यवस्थापनको सवाल, परिक्षा प्रणालीलाई व्यवस्थित गर्ने विषय, खुला विश्वविद्यालयको व्यवस्थित सञ्चालन जस्ता महत्वपूर्ण समस्याहरुमा हामीले गहिरो अध्ययन गरेर समाधान गर्नुपर्ने देखिन्छ । अबको विद्यार्थी आन्दोलन भनेको केवल विरोधका लागि विरोध गर्ने मात्र नभएर सुझावसहितको समाधानको बाटोतिर डोर्याउन सकियो भने शिक्षामा गुणस्तरीयता ल्याउन सकिन्छ । समस्यासँग अपरिचित त होइन, नेतृत्वमा असान्दर्भिक छनोटका कारणले यस्तो देखिन गएको हो ।


विद्यार्थी आन्दोलनको प्रतिपक्षीय भूमिका कमजोर बन्दै गएको र संगठनहरु केवल पार्टीको आदेशपालकका रुपमा सीमित हुन पुगेको भनिन्छ, के भन्नुहुन्छ ?
– अत्यन्त स्वभाविक कुरा उठाउनुभयो । वास्तवमा विद्यार्थी आन्दोलन पनि समयानुकूल परिष्कृत हुनुपर्थ्यो । विद्यार्थी संगठनहरु पार्टीको आदेशपालकको रुपमा भूमिका निर्वाह गरिरहेको कुरामा आंशिक सत्यता देख्छु । यसको मूल कारण भनेको विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थी नभएर गैरविद्यार्थीले ओगटिरहने हुनाले यस्तो समस्या देखिएको हो । अब नेविसंघमा उमेरहद लागु भएपछि यो सन्देश अन्य संगठनहरुमा पनि जान्छ र विस्तारै विद्यार्थी आन्दोलनको भूमिका परिवर्तन हुन्छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement