Friday November 16, 2018 | |

कम्युनिष्ट सत्ताले ध्यान दिनुपर्ने कुरा

featured-news

-लोकेन्द्रबहादुर सिंह 

  
मुलुकमा कम्युनिष्ट पार्टीले सत्ता सम्हालिरहेको छ । गरिब, सर्वहारा वर्ग र अन्यायमा परेकाहरुको मुक्तिका निम्ति संघर्ष गरेको पार्टीका नेता प्रधानमन्त्री छन् । समाजवादको संक्रमणमा प्रवेश गरिसकेको मुलुक साम्यवादको बाटोमा अविचलित यात्रामा रहेको बताइएको छ । मूलतः विकास एवम् समृद्धिको एजेण्डा बोकेर सरकार समाजवाद र साम्यवादलाई आफ्नो प्रमुख लक्ष्य बनाइरहेको छ । पर्याप्त जनमत भएको दुईतिहाइ बहुमत सहितको सरकारसँग जनताले सुशासन, स्थिरता, समान न्याय र तीब्र विकासको अपेक्षा गरिरहेका छन् । निरंकुश अधिनायकवाद र सामन्ती व्यवस्थालाई ढाल्दै स्थापित कम्युनिष्ट सरकार हरेक वर्ग, वर्ण, जाति, क्षेत्र, भाषाभाषी र समुदायका हितका निम्ति एक महत्वपूर्ण र ऐतिहासिक अवसर भएको आम बुझाइ छ ।


संसारमा नेपालको जस्तो कम्युनिष्ट पार्टीले संसदीय मोर्चाबाट बिरलै रुपमा सत्ताको नेतृत्व गर्ने अवसर पाएका छन् । नेपालमा वामपन्थीहरुको नेतृत्वमा सरकार बनेपछि जनताले नमूनायोग्य समृद्धिको अपेक्षा गरिरहेका छन् । जहानियाँ राणाशासन र निरंकुश राजतन्त्रको प्रत्यक्ष महशुस गरिसकेका नेपालीहरु अब कम्युनिष्टहरुले भन्दै आएको सामाजिक न्याय र समानता व्यवहारमै कार्यान्वयन भएको देख्न चाहन्छन् । संसारले पनि नेपालमा जनताको उल्लेखनीय जनमत पाएको कम्युनिष्ट संसारलाई नियालीरहेको छ । वास्तवमा कम्युनिष्टहरुको सत्ताप्राप्तिको एकमात्र माध्यम बुझिने युद्ध र कब्जाको रणनीति त्यागेर शान्तिपूर्ण राजनीतिका माध्यमबाट नेपाली कम्युनिष्टहरुले प्राप्त गरको सफलता विश्वकै एक नमूना राजनीति समेत बनेको छ । लोकतन्त्रको उच्चतम अभ्याससँग सहमत हुँदै बहुदलीय प्रतिष्पर्धाबाट समेत सर्वहारा वर्गको सत्ता निर्माण गर्न सकिने एक नयाँ प्रयोग पनि हो यो । यस कोणबाट हेर्दा नेपाली कम्युनिष्ट आन्दोलनका शिखरपुरुषहरु क. पुष्पलाल, क. मदन भण्डारी, क. मनमोहन अधिकारी मात्र होइन, स्वयम् क. केपी ओली र क. प्रचण्ड पनि संसारका आम कम्युनिष्टहरुका अध्ययनका स्रोत बनिरहेका देखिन्छन् । यसर्थ विश्वले नैं अपेक्षा गरिरहेको नेपालका कम्युनिष्ट नेताहरुले कम्तीमा नेपाली जनतालाई विश्वासघात गर्ने छैनन् भन्ने आम अपेक्षा छ । कम्युनिष्ट पार्टी र वर्तमान नेतृत्वप्रति जनताको पूरै विश्वास र भरोसा देखिन्छ ।


तर, सरकार निर्माणपछि आजसम्मका सरकारका काम कारबाही र नेतृत्वको शैली हेर्दा जनतामा खासै उत्साह आउन सकेको देखिदैन । कम्युनिष्टहरुको दुई तिहाइको जनमत आउँदै गर्दा उत्साहित यूवापंक्ति निराश देखिन थालेको छ । नेतृत्वको स्वभाव, आचरण र कार्यशैलीमाथि टिकाटिप्पणीहरु बढिरहेका छन् । सर्वहारा वर्गको मुक्तिका निम्ति लडेको पार्टी र नेताहरु आपसी खिचातानी र स्वार्थका आधारमा चल्ने हो भने जनताका सपनाहरुमाथि खेलवाड मात्र हुनेछ । यतिबेला जनताले सरकारलाई एकदमै नियालीरहेका छन् । नेतृत्वमा कम्युनिष्ट आचरण क्रमशः पलायन भएर सामन्ती र निरंकुश स्वभाव बढिरहेको गुनासोहरु सुनिन थालेका छन् । सत्ताको नजिक रहेकाहरुको प्रस्तुति, हाउभाउ र रवाफले कार्यकर्ताहरु मुन्टो लुकाउन बाध्य छन् । नेतृत्वले कमजोरी गरिरहेको भएपनि सम्झाउन आवश्यक नठान्नेहरुका कारण पार्टी र सरकार दुबैमाथि प्रश्न उठिरहेका छन् ।


मुलुकमा कम्युनिष्ट पार्टीको सरकार बनिसकेपछि मुलुकबाट रोग, भोक र शोकको अन्त्यका लागि ठोस कदमहरु चालिनुपर्छ । बेरोजगारी, अशिक्षा, छुवाछूत र भेदभावका घटनाहरु रोकिनुपर्छ । समाजका पुराना कुरितिहरुको समूल नष्ट गर्ने अभियानहरु चलाइनुपर्छ । आफ्नै स्रोत र साधनको प्रचूर उपयोग सहितको समृद्धिको यात्रा थालनी गरिनुपर्छ । हजारौंहजार धार्मिक एवम् पर्यटकीय सम्भावनाहरुको विशाल संग्रहालय हाम्रो देश संसारका पर्यटकहरुको लागि पर्यटकीय हब बनाइनुपर्छ । कम्युनिष्टहरु आफैले भनेजस्तै नेपालका सम्पूर्ण विश्वविद्यालयहरुमा जनवादी र वैज्ञानिक शिक्षा लागु गरिनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने इतिहासले कम्युनिष्टहरुलाई सुम्पेको यस्तो स्वर्णिम अवसर फेरि नमिल्न सक्छ । त्यसैले समयमै संघर्षका क्रममा उठाइएका नाराहरु कार्यान्वयन गर्नतिर लाग्नुपर्छ । जनताको विश्वास र इतिहासप्रति न्याय दिन सकिएन भने भविष्य राम्रो नहुने कुराप्रति हेक्का राख्न जरुरी छ । नेताहरुले बुझ्नैपर्छ कि फेरि यस्तो मौका नआउन पनि सक्छ ।


वर्तमान सरकारको पहिलो चुनौती यो सरकार व्यवहारतः कम्युनिष्ट सरकार हो भनेर पुष्टि गर्नु हो । काम गर्ने तौर तरिकाहरुबाट हामी श्रमजीवि वर्गका पक्षपाती हौं भनेर भन्न सक्नुपर्दछ । के मुलुकमा वामपन्थी सरकार भइरहेका बेला पनि धनी र गरिबबिचको खाडल बढ्छ ? सत्तामा पुग्ने कम्युनिष्ट नेतृत्व वर्ग समन्वयकै मार्गलाई पछ्याउनुपर्ने बाध्यता छ र ? के पार्टीद्वारा घोषित सिद्धान्त र कार्यक्रमअनुसार काम गर्न सकिदैन ? किन सत्तामा पुग्ने बित्तिकै सिद्धान्त र व्यवहारका बिच तालमेल मिल्न छोड्छ ? यस्ता तमाम प्रश्नहरुले सरकारलाई घेरिरहेका छन् ।


यसर्थ, फेरि पनि सरकार निर्माण भएको लामो समय भइसकेको छैन । सरकारसँग सही मार्गबाट अघि बढ्न प्रशस्त समय छ । सरकार सञ्चालनमा पार्टीको सिद्धान्त आत्मसाथ गर्ने विज्ञहरुको संलग्नता गराइनुपर्छ । बर्तमान सरकारले थालिरहेका केही कामहरु जनपक्षीय पनि छन् । सरकार निर्माण भएको एक बर्ष पनि नपुगेकाले तत्काल सरकारको आलोचना गर्नुपर्ने बेला भइसकेको छैन । वैदेशिक समन्वयका माध्यमबाट मुलुकमा ठूलाठूला परियोजनाहरु सञ्चालन गर्न खोजिरहेको सरकारका केही महत्वपूर्ण योजनाहरु हेर्दा उल्लेखनीय आशा गर्न सकिन्छ । यतिबेला जनताका तत्कालीन र आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्व एकातिर यथावत् छ भने अर्काेतिर विकास र समृद्धिको बाटोबाट दीर्घकालीन लक्ष्य समाजवादबाट साम्यवादसम्म जाने विषयलाई मध्यनजर गर्दै सरकार अघि बढ्नुको विकल्प छैन ।

 

 

(लेखक अनेरास्ववियुका सचिवालय सदस्य हुन्)

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement