Friday October 19, 2018 | |

नेपाली कांग्रेसद्वारा देशव्यापी सडक आन्दोलन घोषणा

featured-news

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।


मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारका अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।


बैठकले साउन ३, ५ र ८ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।


३ गते गरिने प्रदर्शनको अगुवाई प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघले गर्ने छ भने ५ गते तरुण दलको अगुवाइमा प्रदर्शन गरिनेछ । यस्तै ८ गतेको प्रदर्शनमा कांग्रेसको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिले अगुवाइ गर्ने जनाइएको छ ।


कांग्रेसले जिल्ला स्तरमा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन जारी गरेको छ । साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिइएको छ ।


महामन्त्री डा. शशांक कोइरालाद्वारा जारी विज्ञप्तिमा संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएका छन् ।’

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement