Sunday December 16, 2018 | |

अमेरिकी आप्रवासन नीतिबारे सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम हुँदै

featured-news

सान फ्रान्सिस्को । बदलिँदो अमेरिकी आप्रवासन नीतिबारे सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम सञ्चालन हुने भएको छ ।


अनलाइन न्यूजपोर्टल, हलिउडखबर डटकमले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा आयोजना गरेको सो फोरममा न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराले फोरम संचालन गर्ने भएका छन् ।


डिसेम्बर ९ तारिख साँझ ५ बजे स्थानीय रेस्टुरेन्ट, ‘टेस्ट अफ हिमालय’, सान लियान्द्रोमा हुने कार्यक्रममा ट्रम्प प्रशासनले अख्तियार गरेको इमिग्रेशन नीतिहरु बारे बृहद छलफल हुने फुलाराले बताए । ‘असाइलम, इबीवान, लेबर सर्टिफिकेशन, एचवान बि, टिपिएस, एल बान र फेमिलि पिटिसन लगायतका बिषयमा यो फोरम केन्द्रित हुनेछ’, उनले भने ।


फोरममा सहभागीहरुले फुलारासँग प्रत्यक्ष अन्तक्रिया र प्रश्नोत्तर गर्न सक्नेछन् । फोरममा राष्ट्रपतिको अध्यादेशबाट जारी भएको जिरो टलरेन्स पोलिसी, ग्रीनकार्डका लागि दिनुपर्ने अन्तर्वार्ताको तयारी, पब्लिक बेनिफिट र ट्राभल डकुमेन्टका बारेमा पनि छलफल हुनेछ ।


‘यस फोरमबाट सहभागीले प्रशस्त लाभ लिन सक्ने हामीले विश्वास लिएका छौं’, आयोजक एवं हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले भने ।


विगत एकदशकदेखि कानूनी पेशामा संलग्न फुलारा अमेरिकी आप्रवासन नीतिका जानकार मानिन्छन् । न्यूयोर्कको टाइम्स स्वायरमा रहेको फुलारा ल फर्मबाट सेवा प्रदान गर्दै आएका उनले निकट भविश्यमै सान फ्रान्सिस्को, टेक्सास र लसएन्जलसमा शाखा विस्तार गर्न लागेको जानकारी पनि दिए ।


दुई सत्रमा विभाजन हुने कार्यक्रमको पहिलो सत्रमा बार्षिक उत्सव मनाइने छ जसमा मिडिया फोरम पनि संचालन हुनेछ । महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्त, महासचिव किरण मरहट्ठा र क्षेत्रीय संयोजक गोकुल ढकाल लगायत अन्य संचारकर्मी र स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहने केसीले जानकारी दिए ।


कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तले नेजा र सञ्चार मिडियाहरुको सम्बन्धको बिषयमा र निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिता बिगतदेखि बर्तमान बिषयमा प्रस्तुति दिनेछन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement