Sunday December 17, 2017 | |

युग बोलेका कविता “मौन आक्रोश”

featured-news

–राम सञ्जेल

नेपाली सत्यकथाको फाँटमा स्थापित भइसक्नुभएका कथाकार घनबहादुर थापा नेपाली कविता जगतमा पनि उत्तिकै चर्चित एवम् स्थापित हुनुहुन्छ । कथा विधामाजस्तै मान्छे, मानवता, भ्रातृत्व, प्रकृति र प्रेमलाई कवि घनबहादुर थापाले छोड्नु भएको छैन । मान्छे र रहरजस्ता कविताले मान्छेलाई दुई भागमा बाँडेको छ । एउटा युद्ध बढी मन पराउने मान्छे र अर्को शान्ति मन पराउने मान्छे । यी मान्छे दुवै पूर्ण छैनन् । यहाँ मान्छेपिच्छेको रहरलाई कविले आफ्ना कवितामा उतार्नुभएको छ । यहाँ नाम कमाउने, दाम कमाउने र दुनाम कमाउनेहरूको पनि चर्चा÷परिचर्चा गरिएको छ । उदाहरणका लागि प्रस्तुत कविताहरूमा मान्छेका इच्छा, आकाङ्क्षा, चाहना र भावनाहरू यसरी व्यक्त गरिएका छन् ः
कोही नाम कमाउन सक्रिय रहन्छन्
र, त्यही धुनमा विपत्को पनि पत्तै पाउँदैनन्
कोही दाम कमाउन एकचित्त हुन्छन्
र, रात हो या दिन थाहै पाउँदैनन्
‘सुको’ आउने बाटो
राम्रो वा नराम्रो पत्तै पाउँदैनन् ।
जति बुझ्यो बुझ्नै गाह्रो
विचित्रका मान्छेहरू
अनौठा र अचम्मैका रहर
यी र यस्तै रहरैरहरका काव्यहरू सकिएपछि कवि घनबहादुर थापा ‘युद्धको कुरा नगर’ भन्दै दुई हात जोडेर बिन्ती गर्न पनि पछि पर्नुभएको छैन, आफ्ना कविताहरूमा । विनाशको बीउ नखोज र नछर भन्दै सज्जनता प्रदर्शनका लागि कविताहरूले सबैलाई आव्हान गरेका छन् । यहाँ सगरमाथाको यथार्थ पनि झल्किएको छ । संयुक्त राष्ट्र सङ्घ र हाम्रो नेपालको कुरा समेटिएको छ । पाखा, पर्वत र हरियालीका कुराहरू छन् । अनि वीर पुर्खाहरूको वीरताको गाथा पनि यहीँ गाँसिएको छ ।
सृष्टिको सिर्जना घाम र पानी, बराबरी हौं हकदार हामी, युद्धले बनाउँछ सृष्टि नै अँध्यारो भन्दै कविताको अन्त्यमा यसरी आफ्ना कविताहरूलाई बिसाएका छन् । उदाहरणका लागि कविताका अन्तिम हरफहरूले आफ्नो फोटो आफै खिच्न सफल भएका छन् ः
प्रकृतिले सधैँ मानव जातिलाई
हरिलो, भरिलो सुन्दर संसार दियो
प्रकृतिको उपहार हिरोसिमा, नागासाकीलाई
क्रूर युद्धले मरुभूमि तुल्याइदियो
चाहेनन युद्धभूमिहरूले कहिल्यै आततायी युद्ध
बिन्ती छ युद्धको कुरा नगर

शान्तिलाई प्रमुख आधार बनाएर लेखिएका यी तमाम कविताहरू नेपालमा हिजोआज फैलिएको हिंसा, हत्या, लुटपाट, चोरी, डकैती, अत्याचार, अन्याय, अनाचार, दुराचार, विकृति, कुकृति र बिसङ्गतिप्रति कवि घनबहादुर थापा सचेत देखिनुभएको छ । त्यसैले होला २०६० सालमा लेखिएको कविता युद्धविराममा ‘आपसी द्वन्द्व व्यर्थ हो’ भनेर एउटालाई मात्र होइन सबैलाई बाँच्न असाध्यै गाह्रो भएको कुरा छर्लङ्ग पारिएको छ । यहाँ अँध्यारोको कुरा छ, अनि सद्बुद्धिको कुरा छ ।
यहाँ भनिएको छ– ‘एउटै शब्द युद्धविराम, सबैको उमङ्गको आधार भो’ । मूलतः यी कविताहरू २०६० सालमा भएको युद्धबिरामको समयमा लेखिएको हुनसक्छ ।
अर्को कविता छ – ‘भावनामा हराइरहेछु’ । यसरी गुटुमुटु लुटुपुटु भएर आफ्नै भावनामा कवि घनबहादुर थापा हराइरहेको आभाष पाइन्छ ।
हेरौं यी कविताहरूले आफूलाई कसरी चित्रण गरेका छन् त ?
आशाहरू पलाएकै छन्
आश्वासनहरू मौलाएकै छन्
‘हुन्छ’ र ‘हुनेछ’ का त्यान्द्राहरू
प्रत्येक पाइलाहरूसँगै पछ्याइरहेकै छन्
हरेक लक्ष्य अनि गन्तव्यसँगै
मुटुको ढुकढुकी बढ्दो छ
विश्वास र भरोसा घट्दो छ
तैपनि
म सधैँ जस्ताको तस्तै
समाजबाट तिरस्कृत भएझैँ
सम्भावना र भरोसामा पखेंटा फटफटाइरहेछु
आफ्नै भावनामा हराइरहेछु ।

MAUN_AAKROSH

‘दौलत’ हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित यो कवितामा सुरुमै आरोपका कुरा छन् । अन्त्यमा इहलीलाको कुरो छ । दौलत कस्तालाई के रहेछ ? यहाँ कविता खुलस्त बोलेको छ ः
आफ्नो गल्ती लुकाउन चुकेनन्
तल्लोस्तरमा आफै झर्दा पनि
लोभी पापीको दौलत मोहले
छुट्यो टुट्यो नाता जोड्न खोज्दा पनि
दौलत रै’छ सबथोक ‘निच’लाई
छाडेन्न लुछ्न आफन्त टाढा सर्दा पनि

अर्को कविता छ– कस्तो बिडम्वना ! यसमा सुरुमा विश्वास सङ्कटमा परेको कुरा छ । रगत रगतमै अविश्वास छादेको यो कविताले मान्छे सपनामै तर्सिएको यथार्थको वर्णन गरेको छ । यस्तै अविश्वास र निराशाले भरिएको यो कवितामा आफैले गरेको चिन्तन पनि धोका बन्न पुगेको छ । कविताको सुरुमा इतिहासका पानाहरू दुर्गन्धित भएका यथार्थहरू कविले आफ्ना कवितामा थोपरेको यथार्थ झल्कन्छ । यहाँ पनि अस्तित्व नै छ । स्वार्थी र पापीहरूको जगजगी बढेको छ । तसर्थ यहाँ निराशा पनि छन् । कुन्ठा पनि छन् र सामाजिक विकृति पनि प्रशस्त छन् । उदाहरणका लागि कविताका पङ्क्तिहरू आफैले आफ्ना कुरा बर्बराइरहेका छन् ः
आफन्त नै विरानो बन्ने
फेसन बन्यो कि जस्तो लाग्छ
आजको मान्छेलाई यहाँ
दुःखको क्षणमा धैर्य चाहिएको छ
धोकै धोकाले आक्रान्त जीवनमा
विश्वास र सहनशीलताको आवश्यकता छ
सहाराविहीन आजको मान्छे
अस्तित्व रक्षाकै निम्ति चिन्तित छ

यस्तै अख्तियारनामा, मातृभूमि, स्वागत नयाँ शताव्दीको, दिन अब गए हजुर, अत्याचार किन ?, नियमको पालना, बजारमा भीड, केबुलकारः एउटा अभियान, दया जागेर आउँछ, प्रश्न, ज्यावलको मुन्टो, धन्य छ मुस्ताङ, नशाभित्र पसेपछि जस्ता कविताले नितान्त काव्यको मात्र वर्णन गरेका छैनन् । काव्यको मात्र धर्म निर्वाह गरेका छैनन् । धन्य छ मुस्ताङ कविताले मुस्ताङको वास्तविक चित्रणसमेत गरेको छ । मुस्ताङलाई परिचय गराउन पनि कम्मर कसेको छ । कविताले आफूलाई यसरी प्रस्तुत गरेको छ ः
घरबारविहीन अनाथहरूलाई
न्यानो बासस्थान दिएर
गुम्बाहरू हजारौंको आशीष पाइरहेकै छन्
घुमन्ते फिरन्तेहरू पनि बास पाएर
गुम्बाहरूसँगै हराइरहेकै छन्
बटुवा, विदेशी पर्यटक सबै रमाउन पाइरहेकै छन्
धन्य छ मुस्ताङ
गुम्बाहरू, याकहरू अनि मुस्ताङबासीहरू
धन्य छ तिम्रो सहनशीलतालाई

मुस्ताङ सकिएपछि आउँछ मान्छे । मान्छे कवितामा मान्छेको परिभाषा दिन कविताले भरमग्दुर प्रयास गरेको छ । कस्ता छन् त मान्छे ? के कस्ता कर्म गर्छन् ? कसरी रमाउँछन् र कसरी कमाउँछन् ? हेरौं कविताका हरफहरू ः
चुनलाई नुन भन्दै खाएर
पित्तललाई सुन भन्दै लगाएर
आजको मान्छे
दीर्घरोगको प्रताडनाले
अस्पतालको शैयाको भार बनिरहेछ .... ।
यसैगरी नयाँ वर्षको प्रतीक्षा, मेरो प्रतिनिधित्व, आँसु झरेछ, क्षमा पाउनै पर्छ, अचम्मको देश, शिशु किन हुर्कदैन ?, म... हुँ, विदेसिनुको अर्थ, भानुमोती तिम्रै सम्झनामा, मेरो स्वतन्त्रता, जीवन, सडकको मुहार, नेपाल, चलचित्र, देशको ममता, मेरो सहरमा, लोकतान्त्रिक गणतन्त्र, आँसु र जीवन, छटपटिएको मन, सम्झँदैमा मुटु चस्क्यो, शून्य परिणाम, विफल किन ?, शङ्का जस्ता कविताहरूले यथार्थ धरातललाई समातेर मानव संवेदनाप्रति सचेत रहेको पाइन्छ ।

GHAN THAPA_PHOTO FINAL
यसैगरी भरङ्ग भएँ म ‘क’ तथा ‘ख’ दुवै र मौन आक्रोशले सामाजिक विकृति र बालश्रमविरुद्ध ओजस्वी आवाज उठाउन सफल भएका छन् । साथी खोजिरहेछ गोदावरी, होसियार, भातृभूमिको पहिचानजस्ता कविताहरूले हाम्रो देशको प्राकृतिक सम्पदाको पहिचान गराएका छन् भने सङ्गीन क्षण र अनिश्चित भविष्यले माया ममताको सन्देश छरेको छ । म सहर पसें कवितामा सहर र गाउँको तुलना छ भने हाम्रा बालबालिका कवितामा सामाजिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका करुण कथा समेटिएको छ ।
यसप्रकार हाम्रै समाजका ज्वलन्त उदाहरण दिँदै आएका कविताहरूले कतै–कतै निराशावादी देखिए पनि थुप्रै अत्याचारविरुद्ध इन्क्लाब हुन पनि पछि परेका छैनन् । अन्त्यमा, मान्छेलाई अत्यन्तै माया गरेका यी कविताहरूले नेपाली काव्य जगतमा दुई वटा इँटा थप्ने काम गर्नेछन् भन्ने विश्वासका साथ आजलाई बिट मार्दछु ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement