उदयपुर : विगत पाँच वर्षदेखि एउटा पूरै वंशलाई एकै प्रकारकाे अज्ञात राेगले गाँजेकाे पाइएकाे छ ।
उदयपुरकाे राैतामाई गाउँपालिका वड नम्बर ६ मा बसाेबास गर्ने समाल परिवार अज्ञात राेगबाट पीडित बनेकाे हाे । गाउँका समाल मगर वंशका दाजुभाइका परिवार नै अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएकामा दुई जनाको भने मृत्यु नै भइसकेको छ ।
पाँच वर्षदेखि शरीर काम्ने र हातखुट्टा झमझमाउने रोगबाट पीडीत परिवारमा दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिकाको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।
अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताए ।
सुरुमा पाँच वर्षअघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुरलाई यो रोगले भेटेको मृतकका भिनाजु विष्णुले बताए । दुर्गाबहादुर मलेसियाबाट फर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको बताइएकाे छ । त्यसपछि उनकी श्रीमती अम्बिकालाई यो रोगले छोएको र उनकाे पनि एक वर्षमा मृत्यु भएको थियाे ।
अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् । यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग धमाधम सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ ।
अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने हैन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगर बताउँछन् ।