गलकोट ः कुनै समय एक जना चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल अहिले विशेषज्ञसहितको सेवा पाउँदा जनाता खुसी भएका छन् । धौलागिरि अञ्चलकै एक मात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि स्वास्थ्य सेवा पाएकाले जिल्लावासी हर्षित भएका हुन् ।
अहिले अस्पतालमा विशेषज्ञसहितका चिकित्सक भएकाले अस्पताल पुग्ने बिरामीको संख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रूपमा चिनिएको उक्त अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग विशेषज्ञको माग हुँदै आएको थियो । भौतिक पूर्वाधारको व्यवस्थापनका साथै विशेषज्ञ चिकित्सकका कारण उपचारमा सहज भएको डा. सागरकुमार राजभण्डारीले बताए ।
‘अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक ल्याउन सबैको पहलले सम्भव भएको छ,’ व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने, ‘दुई दिनमै हाजिर भएर काजमा फर्कने परिपाटी अन्त्य गर्दै छौं,’ २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । १६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल ७ विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । उक्त अस्पतालमा फोहोर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप पनि बढेको छ । -रासस
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ १६:४३