काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट झन्डै २३ करोड रुपैयाँ फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
घर बनाउँछु भन्दै अनुदान सम्झौता गरेर घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए । उनका अनुसार सरकारले एकपटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरू ठाउँमा घर भएका वा त्यही घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए । अहिले घर नबनाउँदा रकम त्यत्तिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम सुरु भएको उनले बताए । उनले भने, ‘घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैंले जानेर फिर्ता गर्न थाल्नुभएको छ ।’
कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ । उनका अनुसार जानेर वा नजानी लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए ।
परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यान्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । उनले भने, ‘नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल संख्या ८ लाख १२ हजार ३७१ रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५ १६:२४