काठमाडौँ । मुलुकको राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई वटा नयाँ चिनियाँ वाई १२ सिरिजका विमान काठमाडौ भित्राएको छ । निगमले मंगलबार दिउँसो थप दुई वटा चिनियाँ भित्राएको हो । नयाँ चिनियाँ विमान ल्याएसँगै अब निगमसँग आन्तरिक उडान सेवाकालागि ८ विमान भएका छन् । तर विमानको संख्या अनुरुप उडान भर्नका लागि भने चालकको भने अभाव देखिएको छ ।
निगमसँग दुई जना मात्र चालक रहेका छन् । मंगलबार नयाँ थपिएका दुईवटा वाई १२ सिरिजको चिनियाँ विमान सहित निगमसित चारवटा वाइ १२ विमान भएका छन् । तर, अहिले चारवटा वाई १२ विमानलाई नियमित व्यवसायीक उडान भर्नका लागि जम्मा दुईजना चालक मात्रै छन् ।
२०६९ सालमा नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार निगमले यि नयाँ विमान ल्याएको हो । सो सम्झौता अनुसार ६ वटा मध्ये चार वटा विमान यसअघि नै आइसकेका थिए । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । जसमध्ये एउटा एमए ६० र एक वाई –१२ विमान चिनियाँ अनुदानका हुन् ।
अहिले निगमको एक ट्वीनअटरले नियमति रुपमा उडान गरिरहे पनि एउटा ट्वीनअटर भने मर्मतमा रहेको छ । चालक अभावकै कारण यस अघि नै ल्याइएका दुई वाई– १२ सिरिजका नयाँ विमानले पनि अझैसम्म उडान भर्न सकेका छैनन् ।
निगमलाई आवस्यक नयाँ चिनियाँ विमान खरिद गर्ने सम्झौतामा चीन सरकारले दुईवटा अनुदान र चारवटा विमान सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । सोही सहमती अनुसार निगमले २०७१ सालको वैशाखमा पहिलो एमए–६० विमान ल्याएको थियो । सोही वर्षको कात्तिकमा निगमले पुनः अर्को वाई–१२ विमान ल्याएको थियो । त्यसबेला निगमले पहिलो पटक ल्याइएको दुवै नयाँ चिनियाँ विमान अनुदानमा प्राप्त भएका थिए । त्यसपछि निगमले २०७३ सालमा एमए–६० र वाई–१२ विमान ल्याएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४