२८ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक हुने लहर नै चलेको छ । डिजिटल युगमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धि कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत गाएका छन । विशेषगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा नै उनले चुनावी गीत गायका छन ।
स्थानीय निर्वाचनका क्रममा पंगेनीले नै गाएको ‘मै पनि एमाले’ भन्ने गीत १६ लाखले हेरेका छन् । अर्का लोकदोहोरी गायक विष्णु खत्रीले पनि निर्वाचनलाई केन्द्रित गरेर गीत गाएका छन ।
खत्रीको एक गीतको बोल छ, “माओवादी केन्द्र, एमाले, मसाल देश हाँक्ने संयुक्त वामले हो, कमरेड प्रचण्ड देशका राजनेता, मिलीजुली जिताउने हाम्ले हो ।” यस्तै, टीका पुन र नवीन खड्काले पनि चुनावलाई केन्द्रित गरेर ‘आयो वाम गठबन्धन’ नामक गीत प्रस्तुत गरेका छन ।
लोक दोहोरी गायिका राधिका हमालले ‘काँग्रेस हो सुख र दुःखमा’ भन्ने गीत सार्वजनिक गरेकी छिन । लोक दोहोरी गायक विमलराज क्षेत्री र स्मृति शाहीले पनि काँग्रेसका लागि चुनावी गीत गायका छन । यस्तै, नेतापिच्छे पनि चुनावी प्रचारका गीत बनाउने गतिविधि बढेर गएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४