काठमाडौँ : वरिष्ठ साहित्यकार एवम् इतिहासविद्हरूले इतिहास शिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रबद्र्धन गर्न सबैको पहल आवश्यक रहेको बताएका छन् ।
इतिहास शिरोमणि आचार्यको १३२औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक विचार गोष्ठीमा उनीहरूले आचार्यका प्रकाशित÷अप्रकाशित सबै कृतिको खोज अनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आचार्यको अध्ययनमा संलग्न संघसंस्थासँग मिलेर प्रतिष्ठानले उनका कृति संरक्षण र सम्बद्र्धनका लागि आवश्यक कार्य गरिरहेको जानकारी गराउँदै आचार्यको नाममा विशिष्ट पुरस्कार स्थापना गर्न सरकारसँग आग्रह गर्ने बताए ।
नेपालको इतिहास, भाषा, साहित्यलगायत क्षेत्रमा इतिहास शिरोमणि आचार्यको योगदानलाई संस्थागत गर्न सबैको सहयोगको अपेक्षा गर्दै आचार्यका अप्रकाशित कृति आगामी दिनमा प्रकाशन गर्दा मूलभावमा तोडमोड गर्न नहुने धारणा व्यक्त गरे ।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा तुलसीराम वैद्यले आचार्यलाई राज्यले इतिहास शिरोमणि पदवी दिएर ठूलो सम्मान गरेको भन्दै आचार्यको विद्वताको कदर गर्न उनका सबै कृति संरक्षण गरी नयाँ पुस्तासमक्ष ल्याउनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा प्राडा त्रिरत्न मानन्धरले ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहास शिरोमणि आचार्यले नै सगरमाथाको नामाकरण पहिलोपटक प्रकाशनमा ल्याएको बारेमा जानकारी गराए । प्राडा मीना ओझाले कार्यपत्रमाथि टिप्पणी गर्दै इतिहास र साहित्य लगायत क्षेत्रमा आचार्यले गरेको योगदान आजको पुस्ताको लागि इतिहासको स्रोत बनेको उल्लेख गरे ।
पूर्वराजदूत एवम् आचार्य बन्धु समाजका संस्थापक अध्यक्ष राजेश्वर आचार्यले विश्वमा नेपाललाई चिनाउने एभरेस्ट शब्दसँगै कोेष्ठमा सगरमाथा पनि उल्लेख गर्न सरकारले पहल गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रतिष्ठानको समाजशास्त्र विभाग प्रमुख प्रा दिनेशराज पन्त, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य लगायतले आगामी पुस्ताका लागि समेत मुलुकको गौरवमय इतिहास जीवन्त राख्न इतिहास शिरोमणि आचार्यको योगदान अतुलनीय रहेको बताए । कार्यक्रममा आचार्यको जीवनी र कृतिकोे बारेमा जानकारी दिने उद्देश्यका साथ डब्लूडब्लूडब्लू डट एचबीएएमएफ डट ओआरजी डट एनपी नामक नयाँ वेबसाइट सुरु गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५ ०१:०१