– दयाल बहादुर शाही
गुरिल्ला हुँ म
स्वभावले शान्त भए पनि
अरूले हद पार गरेपछि
आवश्यकताको सिद्धान्तले बनेको योद्धा ।
असंख्यलाई चिथोरेको छु
असंख्यबाट चिथोरिएको पनि छु
जिउभरिका घाउको धनी छु म
नाथे अचानो मलाई देखेर हात उठाउँछ
छिया छिया मेरो देिलको दशा देखेर
प्वालै प्वालको चाल्नोको आँखा रसाउँछ ।
मेरो आँट गलेको छैन
मेरो शिर ढलेको छैन
मेरो आवाजमा अझै ओज छ
मेरो बाहुमा अझै बल छ
मिल्नेसँग म नौनीको डल्लो
चिल्नेसँग म बिच्छीको चल्लो
मित्रता रोज्ने कि शत्रुता ?
रोज्ने छुट अरूलाई दिन्छु
जाइलाग्ने मेरो कुलत छैन
आइलाग्ने सग्लो बचेको छैन
भिडन्तमै रमाउँछु म
पिठ फर्काउन जानेको छैन
गुमाउनुमै निर्भर छ जित
छाला जोगाउन जानेका्े छैन
मार हान्ने क्षमता बढाउने गर्छु
लाभको लागि जोखना हेरेको छैन
म निस्फिक्री लड्ने गर्छु
किन हो कुन्नी ?
जित मलाई पछ्याउँदै आउने गरेको छ
पहिले मेरो लोटा फुटाल्नेको गाग्री
पछि मेरै हातबाट फुट्ने गरेको छ ।
अगाडिबाट आएर एक होइन
अनेक सिंहले पन्जा लडाउँछन् मसँग
पछाडिबाट आएर एक होइन
अनेक हुँडारले चिर्थोछन् मलाई
झापु लगाउन नचुक्ने मेरो बानी छ ।
मेरो सौभाग्य यही छ कि
निहुँ खोज्नेको रोइलो सुरू भैहाल्छ
जोरीपारीको दल मैदान छोडेर भाग्छ
हो मसँग केही पनि छैन
तैपनि आँट र इमान मेरा दुई खुट्टा हुन्
सत्य र न्याय मेरा दुई हात हुन्
लक्ष्य मेरो शिर भाग हो ।
लगनशीलता र धैर्य
म उभिने धरातल हो
दिल मेरो सर्वस्व हो ।
मैसँग निहुँ खोजेर
मेरै जिउ कोतरेकी सिंहंनी
जब लालाबालासहित संकटमा फस्छे
वनकुकुरहरूको फन्दामा परेर
जब उसले चित्कार छोड्छे
जीवनबाट हात धुदै गरेको शत्रुको
दुराबस्था टुलुटुलु हेर्न सक्तैन म
बिगत बिर्सिएर, आग्रह नपालेर
संभावित मृत्युको जोखिम मोलेर
उद्धार कार्यमा उत्रिन्छु म
उसको जवानीमा ढलिमली गर्ने
उसको पौरखमा जीवन गुजार्ने
उसको आफ्नै जीवन साथीले
आँट गलाएर टाप कसेको बेला
आफ्नो भनेको समाजले नै
दुखमा साथ दिनुकोे सट्टा
ज्यान जोगाएर भाग्दै
असली रूप देखाएको बेला
दुखको साथी बन्र जानेको छु मैले
किनकी मसँग दिलको गलैँचा छ
अझ मित्रपंक्ति र जोरीपारी सबैलाई पुग्ने गरी
दिलको गलैँचा बिछाइरहने बानी छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५ १९:१६