तारा हेर्न आकाश हेरेँ
केवल कालो मात्रै देखेँ
कालो,
जो गन्हाइरहेछ
त्यो बादल त पक्कै होइन
कालो,
देश जलेर उडेको मुस्लो
कालो,
या विवेक डढेर लत्पत्तिएको
कालो,
आखिर कालो कालै हो
कालो डरलाग्दो हो ।
आमा !
म सानो छँदा
कपडा फोहोर पार्दा
तिम्ले लुगा धोइदिन्थ्यौ नि
सबै दाग
सबै कालो मेटाइदिन्थ्यौ नि ।
लौन ! आमा
एउटा उपकार गरिदेऊ न
मेरो देशलाई नि धोइदेऊ न
कालो दाग
अनि
कालो आकाश मेटाइदेऊ न
मेरो लुगा जस्तै
देशलाई नि सफा बनाइदेऊ न ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६ २०:४३