काठमाडौं : वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले विश्व प्रसिद्ध नोबेल पुरस्कार नेपाली कृतिले प्राप्त गरेको हेरेर मर्ने रहर र सपना भएको बताएका छन् ।
जोशीको शताब्दी वर्षमा प्रवेशको उपलक्ष्यमा उनकै निवास बखुंबहाल ललितपुरमा पुगेका साहित्यकारहरूलार्ई सम्बोधन गर्दै नेपाली लेखकले पनि नोबेल पुरस्कार प्राप्त गर्न सक्ने कुरा बताए । चिनियाँ लेखक मो यानले नोबेल पुरस्कार प्राप्त गरेको प्रसंग उल्लेख गर्दै जोशीले भने, नेपाली भाषामा पनि त्यस्ता विषयवस्तु जति भने पनि छन् तर त्यसलाई चिन्न र खोतल्न सक्नुपर्यो ।
त्यसको जिम्मेवारी साहित्यकारहरूकै भएको बताउँदै जोशीले भने, नेपाली मौलिकता दिन सक्नुपर्यो र त्यो दिँदा अहिलेको समयलाई सम्बोधन गर्न सक्ने र विश्वलाई ग्राह्य हुने हुनुपर्यो । यसका लागि कुशल अनुवाद के कसरी गर्ने ? यसतर्फ अहिलेदेखि नै सोच्न र काम गर्न थाल्नुपर्ने जोशीको भनाइ थियो ।
नववर्ष २०७६ को प्रथम सोमबारका दिन नेपाली लेखक संघ मोरङले आयोजना गरेको कार्यक्रममा शताब्दी पुरुष जोशीले साहित्यकारहरूसँग प्रसन्न भएर करिब चार घण्टा बिताएका थिए । सो कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईले नेपाली भाषा तथा नेपाल भाषा दुवैमा जोशीले पुर्याएको योगदानमाथि प्रकाश पारेका थिए । वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले नेपाली वाङ्मयमा शताब्दी पुरुष सत्यमोहन जोशीले गरेको विशिष्ट योगदानको चर्चा गर्दै उनी राष्ट्रको स्पन्दन रहेको बताए ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरेले शताब्दी पुरुषको सांस्कृतिक व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए भने साहित्यकार दधिराज सुवेदीले जोशीको साहित्यिक व्यक्तित्वका बारेमा बोलेका थिए ।
नेपाली लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले स्वागत मन्तव्य राख्दै लेखक संघ मोरङले शताब्दी पुरुषको आँगनसम्म आएर उनलाई अभिनन्दन गर्ने पवित्र काम गरेको बताए । सो समारोहमा लेखक संघ मोरङको तर्फबाट तयार गरिएको अभिनन्दनपत्र साहित्यकार दधिराज सुवेदीले शताब्दी पुरुषलाई समर्पण गरेका थिए । कवि प्रल्हाद पोखरेलले शुभकामना कविता वाचन गरेका थिए भने नेपाली लेखक संघका केन्द्रीय सदस्य राधिका गुरागाईंले अभिनन्दनपत्र वाचन गरेकी थिइन् ।
समारोहमा डा. कुमारप्रसाद कोइराला, डा. ज्ञानु पाण्डे, किशोर पहाडी, डा. कृष्णप्रसाद दाहाल, कृष्ण प्रधान, प्राज्ञ विवश पोखरेल, प्राज्ञ लक्ष्मी उप्रेती, जीवनाथ धमला, नवराज पुडासैनी, मोतीराज बम, विनोद दाहाल, दिनेशकुमार मगर, राजेन्द्रप्रसाद दाहाल, राजेश श्रेष्ठ, नारायण सापकोटा, तुलसीहरि कोइराला, सुविद गुरागाईं, मन्जिला उप्रेती, राजेन्द्र गुरागाईंलगायतका साहित्यकारहरूले शताब्दी पुरुष जोशीलाई शताब्दी वर्ष प्रवेशको उपलक्ष्यमा शुभकामना अर्पण गरेका थिए ।
कार्यक्रमको सहजीकरण कवि मनोज न्यौपानेले गरेका थिए ।