झापा : आइतबारदेखि दमकमा जारी प्रदेश १ स्तरीय वृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सम्पन्न भएको छ । संगोष्ठीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवर्द्धनको उद्देश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताए । उनले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञाप्रतिष्ठान लागेको उल्लेख गर्दै सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको सुनाए ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बताए । उनले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र संवर्द्धनमा संवेदनशील रहेको सुनाए ।
आइतबार प्रधानमन्त्री ओलीले सङ्गोष्ठीको उद्घाटन गर्दै भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गरे । यसको विकासका लागि सरकार आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाउँदै चाँडै प्रादेशिक प्रज्ञाप्रतिष्ठान गठन गरिने बताए ।
कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सातवटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञाप्रतिष्ठानको योजना रहेको धारणा राखे ।
यसैगरी प्रज्ञाप्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा, काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले समकालीन नेपाली कविताका विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलका बारेमा बोलेका थिए ।
सङ्गोष्ठीमा ‘किरात मुन्धुम’सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’बारे राजेश्वर थापाले, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाईंले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’बारे उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदीलगायतले गरेका थिए । कार्यक्रममा कवितागोष्ठी तथा गजल सन्ध्या भएको थियो । उक्त अवसरमा चार आदिवासी समुदायका महिला र पुरुष गरी दुई–दुई जनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सङ्गोष्ठीमा प्रदेश १ का विभिन्न जिल्लाका स्रष्टाहरूको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५ २२:२५