घाउ
बर्सौँ वर्षदेखि उगुज पल्टेर छताछुल्ल
घाउको तीखो दुःखाइ
बर्सौँ वर्षदेखि पीडा खपिरहेको
अमिलो मन
निराशा र बेचैनीले घेरेको जीर्ण तन
कति खप्ने ?
घाउको पनि सीमा हुनुपर्ने हो
सधैँ पाप्रा किन कोट्याउनु !
सधैँ पीडा किन खप्नु !
शीतल मल्हम पाइँदैन र !
नुन पानीले सफा गर्न पाइन्न र !
हो, घाउहरू बल्झिरहन्छन्
हो घाउका दाउहरू फेरिरहन्छन्
तर घाउ हुने शरीरमा
तिनको स्थान नभए
ती कहाँ कहाँ बल्झिन्छन् ?
कहाँ फैलिन्छन् ?
घाउको बिउ रोपेर
रमाउनेहरू हेरिहून्
घाउलाई मलजल गर्नेहरू
जिल्ल परिरहून्
जरामै चिनी हालिदिएपछि
कसरी फैलिन्छ घाउ ?
परिर्तन
बादल मडारिइहेछ आकाशमा
घाम उदाउनेपट्टि अँध्यारो पारेर
डर, त्रास, अनिष्ट ?
ओहो के हुने हो !
झिलिक्क बिजुली
चट्याङको चड्कने स्वर
अत्यास लागिरहेछ
अब के हुने हो !
आँधी सँघारमै हुनहुनाउँदै छ
खोलो एकैछिनमा सुसाउनेवाला छ
बाढीको धमिलो केहीबेरमै बग्नेछ
पहिरोले कतिलाई रुवाउने हो
विनाशको सम्भावना ढोकामै उभिएको छ
तै पनि म
एउटा सुन्दर संसार बुन्दैछु
फोहोर पखाल्न पानी बर्सिनै पर्छ
सिनो बगाउन बाढी आउनै पर्छ
बर्सौदेखि थुपारिएका कुहिएका
पातहरू उडाउन आँधी आउनै पर्छ
निरिह प्राणीको प्राण रक्षार्थ
धर्तीको सिर्जना शक्ति
प्रस्फुटन गर्न बादल लाग्नैपर्छ
‘दुःख’ सुखको जननी हो
‘त्राश’ आशको जननी हो
सिनो बगाउने बाढीले
कहिलेकाही खेत बगाउन सक्छ
पात उडाउने आँधीले
कहिलेकाहीँ छानो उडाउन सक्छ
सहनुपर्छ, परिवर्तन बादलमै छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५ २०:५१